
२५ फागुन, नुवाकोट ।
नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले लज्जास्पद हार ब्यहोरेको छ । यहाँ रास्वपाका उम्मेद्वारहरुले जित हासिल गर्दै क्लिन स्विप गर्न सफल भएका हुन् । काँग्रेसका चर्चित नेता पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई पराजित गर्दै क्षेत्र नं. १ मा डा.विक्रम तिमल्सिना विजयी भए । दुई दिनअघि नै क्षेत्र नं.२ मा पनि जगदिश्वर नरसिंह केसीलाई हराउँदै अर्का उम्मेद्वार डा.अच्युतम् लामिछानेले दोब्बर मतले जितिदिए।
केसीलाई पराजित गदै लामिछानेले ३२ हजार ५४ मतका साथ प्रतिनिधिसभा संसदको यात्रा तय गरेका छन् । काँग्रेसले यसअघि जितेको क्षेत्रमा केसीले अहिले १५ हजार ५०३ मतमा मात्र सिमित हुनपुगे र हार ब्यहोरे । नेकपा (एमाले) केशवराज पाण्डेले ८ हजार २८५ मतसहित तेस्रो र चौंथो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हिरानाथ खतिवडाले छ हजार ७२० मत पाए । बरु, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले दुई हजार ७५० मत ल्याउन सफल भए ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा यहाँ अर्जुननरसिंहले रास्वपाका सुमन विक्रम पाण्डेलाई दोब्बर मतले पन्छाउँदै २८ हजार १ सय ७ मत ल्याएर विजयी भएका थिए । अहिले दोब्बरभन्दा धेरै मतले उनकै भाई जगदिश्वर नरसिंह केसीलाई रास्वपाले त्यसको बदला लिएको छ ।
गएको मध्यराति क्षेत्र नं. १ को पनि मतपरिणाम सार्वजनिक भएअनुसार पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई तिमल्सिनाले चार हजार मतान्तरले पराजित गर्दै विजयी भए । रास्वपाका तिमल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिष्पर्धी काँग्रेसका महतले १८ हजार ५९७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का हितबहादुर तामाङले १३ हजार ३७७ पाएका छन् भने नेकपा (एमाले)का बद्री मैनाली ८ हजार ९३२ मतसहित चौथो स्थानमा खुम्चिएका छन् । यसैगरी, उज्यालो नेपाल पार्टीका अमित तामाङले दुई हजार ६३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिमल थापाले सातसय ५६ मत मात्र पाएका छन् ।

गजुरेल सर्वोच्च नेपालका प्रकाशक तथा प्रधान सम्पादक हुन् ।
