
काठमाण्डौं । काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। कार्यवाहक मेयर सुनिता डंगोलले आज साँझ उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो। साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन्।
यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने उनले बताएकी छन्।तर, धेरै बेर यात्रुलाई कुरेर बस रोकिने छैनन् । रातिको समयमा धेरै यात्रुहरू नहुने भएकाले यात्रु देखेपछि वा हात दिएपछि मात्रै बस रोकिनेछन् ।
महानगरका अनुसार ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । यो रुटमा उत्तर–दक्षिण गरी १६ किलोमिटरको एकतर्फी रुट पर्छ । अर्को रुट थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म चल्नेछ । यसलाई पूर्व–पश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटर तोकिएको छ।
बसमा सुरक्षाका लागि एक जना नगर प्रहरीको उपस्थिति राखिने महानगरपालिकाले जनाएको छ। बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा गरिएको छ। हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सिसिटिभी क्यामराकबाट निगरानी हुनेछ।
यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले कसैले कुनै सामान छुटे प्राप्त गर्न सकिनेछ। कसैले दुव्र्यवहारको प्रयास गर्छ भने तत्काल नियन्त्रणमा लिन सकिनेछ। यो बस सेवा ललितपुर महानगर, चन्द्रागिरि नगर र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो।

गजुरेल सर्वोच्च नेपालका प्रकाशक तथा प्रधान सम्पादक हुन् ।
