दुप्चेश्वरमा ‘न्यू इयर ब्लास्ट’ हुँदै

दुप्चेश्वरमा ‘न्यू इयर ब्लास्ट’ हुँदै

नुवाकोट । नेपाल रिङ रेस्लिङ संघ नुवाकोटले आयोजनामा नयाँ वर्ष २०८३ को अवसर पारेर रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ।नुवाकोटको प्रसिद्ध धार्मिक थलो दुप्चेश्वर मन्दिर प्राङ्गणमा बैशाख १ गते हुने उक्त प्रतियोगिताको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त खेल योजना सार्वजनिक गरेको हो ।

‘न्यू इयर ब्लास्ट’ नाम दिइएको प्रतियोगितामार्फत यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने र मोफसलमा रेस्लिङ खेलको विस्तार गर्ने उद्देश्य राखिएको जानकारी दिएको छ। संघका अध्यक्ष प्रल्हाद थापाका अनुसार प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ। हेभीवेट (पुरुष) तर्फका विजेताले गोल्डेन बेल्टसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने महिला च्याम्पियनसिप विजेताले बेल्टसहित ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यसैगरी पुरुष ट्याग टिम हार्डकोर विधाका विजेतालाई मेडलसहित ६० हजार रुपैयाँ तथा ट्रिपल थ्रेट विधाका विजेतालाई मेडलसहित २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

महासचिव कमल तामाङका अनुसार प्रतियोगितामा नुवाकोटे टाइगर, साइन, डेविट, चट्टान, किङ्ग रोवर्ट, उर्गेन, ठागु, तनु, आकृति सुजल, एक्स हिरो, सिजेवल्ड लगायत एक दर्जनभन्दा बढी चर्चित नेपाली रेस्लरहरूको सहभागिता रहनेछ। कार्यक्रममा स्मृति गौतम, मदन थापा लगायतका राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ।

संघले यसअघि पनि विभिन्न स्थानमा रेस्लिङ प्रतियोगिता आयोजना गर्दै आएको छ। २०७८ सालमा शिवपुरी गाउँपालिका सूर्यचौरमा ‘1st RW Summer Slam’, २०७९ सालमा दुप्चेश्वर मन्दिर प्राङ्गणमा ‘2nd RW Summer Slam’ तथा सोही वर्ष असोज १५ गते शिवपुरीस्थित कालिका मावि गुर्जेमा ‘वडादशै महाभिडन्त’ सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ।

आयोजकका अनुसार यसपटकको प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुका साथै स्थानीय स्तरमा खेलकुद र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस