निर्वाचनमा नुवाकोट

हितबहादुरदेखि हिरानाथसम्मका उम्मेद्वारहरुले गरे मतदान

नुवाकोटमा ४५ प्रतिशत मत खस्यो, मतदाताहरुको उत्साहपूर्वक सहभागिता
हितबहादुरदेखि हिरानाथसम्मका उम्मेद्वारहरुले गरे मतदान

२१ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचनका लागि आज नुवाकोटमा उत्साहजनक रुपमा मतदान जारी छ । साढे दुई बजेसम्मको समयमा करिब ४५ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ । अहिलेसम्म शान्तिपूर्ण वतावरणमा मतदान भइरहेको जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीले जानकारी दिएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मतदातासँगै उम्मेद्वारहरुले पनि मत दिएका छन् । क्षेत्र नं. १ बाट उम्मेद्वार रहेका नेकपाका हितबहादुर तामाङले पञ्चकन्यास्थित केन्द्रबाट मतदान गरेका छन् भने क्षेत्र नं. २ मा हिरानाथ खतिवडाले विदुर नगरपालिकास्थित चण्डेश्वरी केन्द्रमा मतदान गरेका छन् । यसैगरी, नेपाली काँग्रेसका १ नं. क्षेत्रका डा. प्रकाशशरण महत, २ बाट जगदिश्वर नरसिंह केसी, एमालेका क्षेत्र नं. १ का बद्री मैनाली, २ बाट केशवराज पाण्डेसहित रास्वपाका विक्रम तिमल्सिनाले क्षेत्र नं. १ र २ मा अच्युतम् लामिछानेले मत दिएका छन् ।
मतदानमा उल्लेख्य रुपमा मतदाताहरुको उत्साहपूर्वक सहभागिता देखिएको छ । विगतको तुलनामा आजको निर्वाचन सभ्य र शान्तिपूर्वक भइरहेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक रेग्मीका अनुसार अहिलेसम्म कुनैपनि अप्रिय घटना हुन पाएको छैन । निर्वाचन तयारीका लागि धेरै दिनअघिदेखि नै सुरक्षा व्यवस्था मजबुत पारिएकोले कुनैपनि विवाद र अवरोध हुन नपाएकोले शान्त वातावरणमा मतदान चलिरहेको रेग्मीले जानकारी दिए । अघिल्ला निर्वाचनहरुभन्दा यसपटक धेरै मत खस्ने नुवाकोट जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले दाबी गरे ।
कुल २ लाख ४७ हजार ८६८ मतदाताले नुवाकोट जिल्लामा १३२ मतदान स्थलका २९३ मतदान केन्द्रहरुबाट मतदान गर्नेछन् । क्षेत्र नं. १ मा एकलाख २३ हजार ९२९ मतदाताले ६८ मतदान स्थलका १४४ केन्द्र र क्षेत्र नं. २ मा एकलाख २३ हजार ९३९ जना मतदाताले ६४ मतदान स्थलका १३९ केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस