
२६ फागुन, नुवाकोट । समाजसेवी एकाबहादुर पाठकको स्मृतिमा स्थापित संस्थाले नुवाकोटको तादी गाउँपालिकास्थित सुन्दरा माध्यामिक विद्यालयमा विद्यार्थीहरुका लागि स्काउट कार्यक्रम लागू गर्दै आवश्यक सम्पूर्ण पोशाक उपलब्ध गराएको छ।
समाजसेवामा आफ्नो सम्पूर्ण जिवन बिताएर दिवंगत हुनुभएका शिक्षासेवी तथा राजनीतिज्ञ पाठकको सामाजिक योगदानलाई मृत्युपछि पनि निरन्तरता दिने उद्देश्यले स्थापना भएको स्व. एकाबहादुर पाठक समाज विकास संस्थाले उक्त विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई सहयोगस्वरुप स्काउट पोशाक वितरण गरिएको हो ।
तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले विद्यार्थीलाई पोशाक वितरण गर्दै ६६/६७ वर्षअघि शिक्षाको अवसरबाट बञ्चित नुवाकोटको पुर्वी भेगका दुर्गम गाउँमा करिब एक दर्जन विद्यालयहरु स्थापना गरेर एकबहादुर पाठकले अशिक्षाको अन्धकार हटाएर मुक्ति दिनुभएको योगदानको चर्चा गर्नुभयो । अहिले उहाँकै अगुवाइमा स्थापना भएको विद्यालयका विद्यार्थीको हितमा सो संस्थाले सहयोग पुर्याउनु प्रशंसनिय कार्य भएको तादी-४ का वडाध्यक्ष अश्विनकुमार पाण्डेले बताउनुभयो ।

विद्यार्थीको शारीरिक र मानसिक वृद्धिविकास लगायत शैक्षिक क्षेत्रमा अतिरिक्त क्रियाकलापमार्फत गुणस्तरीय शिक्षासहितको सिर्जनशील प्रतिभा उत्पादन गराउने अभियानमा संस्था क्रियाशील छ । त्यस अभियानलाई मद्दत पुर्याउने उद्देश्य अन्तर्गत स्काउट पोशाक सहयोगस्वरुप उपलब्ध गराइएको संस्थाका अध्यक्ष गोकार्णराज पाठकले जानकारी दिनुभयो ।
विगतमा यसै विद्यालयका प्रधानाध्यापक र हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका पाठकले सामाजिक तथा शैक्षिक सुधारमा आफ्ना बुबाको योगदानलाई चिरस्थायी बनाउन सुरुवात चरणमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर संस्था सक्रिय रहेको दाबी गर्नुभयो । पोशाक हस्तान्तरणमा तादी गाउँपालिका कार्यालयका शिक्षा शाखा प्रमुख अधिकृत सन्तोष खनाल, संस्थाका प्रमुख संरक्षक पल्लवराज पाठक, सचिव रामहरि गजुरेल, सहसचिव प्रकाश पाठक, सदस्यहरु बन्दना पाठक थपलिया, यस विद्यालयका प्रधानाध्यापक कपिलेश्वर मण्डल, शिक्षक सुरेन्द्र तिमल्सिना, रालुका माविका प्रधानाध्यापक भोजकुमार श्रेष्ठ लगायत स्थानीय अगुवा र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यसअघि पुस १४ गते पाठकको जन्मजयन्तीका अवसरमा पनि यसै विद्यालयमा एकसय पाँचजना बालबालिकाहरुलाई ब्याग र स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको थियो भने असोजमा आफ्ना हजुरबुबाको स्मृतिमा नातिनी बन्दना पाठक थपलिया र उहाँका श्रीमान् तथा समाजसेवामा क्रियाशील व्यक्तित्व जगदिश्वर थपलियाले विद्यालयलाई आवश्यक खेलकुद सामग्री सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
२०७५ सालमा स्थापना भएको संस्थाले स्वर्गीय पाठकका सन्तान, आफन्त र परिवारका सदस्यहरुबाट स्वतस्फुर्त व्यक्तिगत रुपमा आर्थिक रकम संकलन गरी यसप्रकारको सहयोग कार्यक्रम गर्दै आइरहेको छ ।

तादी-४ तामे गाउँमा १९८० को दशकमा जन्मिएर एकबहादुर पाठक युवा अवस्थामा नै देशमा राणाशासनको अन्त्यसँगै सामाजिक सेवा र शिक्षाको अधिकारका लागि होमिनुभएको थियो । उहाँको पहलमा नुवाकोटको पुर्वी क्षेत्रमा दुर्गम गाउँहरूमा करिब एक दर्जनजति विद्यालयहरु स्थापना भएका थिए । २०१८ सालदेखि पञ्चायती व्यवस्थामा दुईपटक प्रधानपञ्च र उपप्रधानपञ्च निर्वाचित भएर नेतृत्वसमेत गर्नुभएको थियो । उहाँको २०७२ साल मंसिर २० गते ९४ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँको राजनीतिक तथा सामाजिक विकास योगदानको इतिहासलाई अहिले तादी गाउँपालिका स्थानिय सरकारले लागू गरेको कक्षा ८ को पाठ्यक्रममा समावेश गरेर पठनपाठनसमेत गराउँदै आइरहेको छ ।



उहाँ Sarbochcha Nepal डट कम का लागि डेस्क प्रमुख हुनुहुन्छ |
