सांसदलाई सतर्कता

रास्वपाको कडा नियमः अनुशासनमा नबस्ने सांसदलाई कारबाही

जनताको सच्चा सेवक बन्न निर्देशन
रास्वपाको कडा नियमः अनुशासनमा नबस्ने सांसदलाई कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आचरणमा नबस्ने र जनअपेक्षाविपरीत काम गर्ने सांसदलाई फिर्ता बोलाउने चेतावनी दियो । प्रशिक्षणका लागि आयोजना गरेको क्लोज क्याम्पमा रास्वापाले आफ्ना सांसदलाई अनुशासनमा बस्न र जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिएको हो ।

‘बोल्न आउँदैन भनेर उल्लिबिल्ली बनाइरहनुभएको छ । त्यसैले क्लास लिएकी हुँ,’ रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि धादिङ–१ बाट निर्वाचित सांसद आसिका तामाङले आफूलाई बोल्न नआउने भनेर गरिएको टिप्पणीमा व्यंग मिश्रित प्रतिक्रिया दिइन् ।

रास्वपाले संसदीय भूमिका र कसरी प्रस्तुत हुने भनेर आफ्ना सांसदलाई दुई दिने ‘क्लोज क्याम्प’ अभिमुखीकरण कार्यक्रम राखेको थियो । रास्वपाका प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित अधिकांश (१८२) सांसदहरू सहभागी थिए ।

तर, पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन शाह भने क्लोज क्याम्पमा अनुपस्थित रहे । उनको प्रतीक्षामा सांसदहरू थिए । तर स्वास्थ्यको कारण देखाउँदै उनी सहभागी हुन सकेनन् । समापन समारोहमा सभापति रवि लामिछानेले सम्बोधन गरे ।

दुई दिने क्लोज क्याम्पले संसद्‌मा कसरी बोल्नेदेखि के गर्ने, के नगर्नेबारे नवनिर्वाचित सांसदहरूले ज्ञान पाए । पार्टीका शीर्ष नेता र विषय विज्ञले संसदीय अभ्यासबारे जानकारी दिए ।

अभिमुखीकरण फलदायी भएको प्रतिक्रिया सहभागी सांसदहरूको छ । ‘दुई दिने क्लास एकदमै राम्रो भयो । मलाई यही पिर थियो । देशमा प्रधानमन्त्री मात्रै होइन, धेरै सांसद नयाँ हुनुहन्छ । मलाई कसले गाइड गर्छ भन्ने डर थियो । पार्टीले यो राम्रो ओरेन्टेसन क्लास राख्यो, राम्रो भयो,’ तामाङले दुई दिने अनुभव सुनाइन् ।

फरक–फरक क्षेत्रबाट निर्वाचित भएर आएका सांसदको एकअर्कामा चिनजानसमेत थिएन । परिचयसँगै संसदीय अभ्यासबारे जान्न पाएको अनुभव उनीहरूले सुनाए ।

‘कसरी काम गर्ने भनेर संवेदनशील थियौं । संसदीय भूमिका, कानुन निर्माण, कर्मचारीतन्त्रबारे प्रशिक्षण भयो,’ काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेलले भने, ‘विभिन्न पृष्ठभूमि र परिवेशबाट आएका छौँ । सांसदको भूमिकाबारे बुझ्न पाइयो ।’

अघिल्लो संसद्‌मा रहेका सांसदले आफ्नो अनुभव नयाँ सांसदहरूलाई बाँडे । ‘हाम्रो अनुभवको कुरा राख्यौं । अघिल्लो छोटो कार्यकाल थियो । नवनिर्वाचितलाई सेयर गर्‍यौं,’ चितवन–१ बाट निर्वाचित हरि ढकालले भने ।

पुरान दलहरूले नगरेको अभ्यास यसपटक रास्वपाले शपथअघि नै थालनी गरेकाले संसद्‌मा काम सही ढंगले हुने विश्वास उनीहरूको छ । ‘पहिला पुराना दलहरूले यस्तो कक्षा राखेको भए । देश अफ्ठ्यारोमा जाने थिएन । यसपटक बहुआयामिक विषयमा कक्षा भयो,’ मोरङ–१ बाट निर्वाचित सांसद यज्ञमणि न्यौपानेले भने ।

 

ताजा अपडेट

खोजी गर्नुहोस