सतुवान र जूडशीतल ः हाम्रो पहिचान —रेणु गुप्ता

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ बैशाख २, बिहिबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail


वैशाख ०२ गते
हिन्दुहरुको नयाँ वर्ष वि.स. २०७८ हाम्रो घर आँगनमा भित्रिइसकेको छ । हाम्रो देश विविधतामा एकताको देश हो । विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृति बोकेको देश नेपालको आफ्नै पहिचान छ र आफ्नै गर्व गर्न सक्ने ठाउँ पनि छ । कहिले ल्होसार, कहिले माघी त कहिले कुन र कहिले कुन पर्वहरु हामी नेपालीले वर्षभरि मनाइरहन्छौँ । यस्तै हरेक ठूला धार्मिक सम्प्रदायमा नयाँ वर्ष मनाउने परम्परा अलग पनि रहेको देखिन्छ । विक्रम सम्वत नेपालको राष्ट्रिय सम्वत हो । विक्रम सम्वत सुरुआत हुने दिन नयाँ वर्षको पहिलो दिन हुन्छ । यस दिनलाई देशभरि हरेक जाति, धर्म, समुदायले मनाउने गरेका छन् । यसर्थ हरेक नेपालीको साझा नयाँ वर्ष पनि यही हुने गरेको छ ।
अहिले नयाँ वर्ष मनाइरहँदा विश्वमा कोरोनाको त्रास फेरि फैलिएको छ । विश्व अहिले फेरि कोरोनाको कहरमा परेको छ । पोहोरको वर्ष यही समयमा कोरोनाले विश्वलाई नै थर्काएको थियो । अर्थात् अघिल्लो वर्षको दुःखलाई मान्छे विर्सिन नपाउँदै फेरि यसको डरलाग्दो रुपले विश्वलाई आक्रान्त बनाइ दिएको छ । हरेक दिन हजारौको संख्यामा नयाँ मरेजी देखा पर्ने गरेको र त्यसकै तुलनामा मर्नेको संख्या कम छैन भने हाम्रो देशमा पनि यसको प्रभाव कम छैन यस्तो अवस्थामा सबै क्षेत्र त्रसित छ । यद्यपि संक्रमितको संख्या कमै देखिने गरेको नेपालमा तर सतर्कतापूर्ण त्रास भने सबैतिर व्याप्त रहेको छ । विद्यार्थीदेखि व्यापारीसम्म, साहुदेखि महाजनसम्म, सर्वसाधारण जो जहाँ छन् उनलाई आफ्नै किसिमको डर छ अब के हुने हो र देशको अवस्था के हुने हो । कोरोनाले कस्तो बनाउने हो ? पोहोर वर्षमा भएको लकडाउनले देशको अर्थतन्त्रलाई नै पुरै डामाडोल बनाएर गयो अब अहिले के हुने हो केही भन्न सकिने अवस्थामा छैन । यही अन्यौलको बीचमा नयाँ वर्षको आगमन भएको छ पक्कै पनि हामीमा यसले नयाँ जोश र नयाँ उर्जा थप्ने काम गरोस् भने हामी सबैको शुभेच्छा रहेको छ । यो नयाँ वर्षले देशमा शान्ति ल्याओस् । देश प्रगतिको दिशातिर लम्कोस् र कोरोनाको अन्त्य होस् । हामी आफ्नो जीवन सरल तरिकाले अगाडि बढाउन सकौं ।
नयाँ वर्षसँगै जोडिएको एउटा पर्व सतुवान पनि हो । विशेष गरी मधेशका विभिन्न जिल्लाका साथै अन्य जिल्लाहरुमा पनि नयाँ वर्षको दिन सतुवान मनाइने गरिन्छ । यस दिन बिहानै घर आँगन लिपपोत गरेर नुहाइ धुवाइ आफ्ना कुलदेवता लगायत सबै देवताहरु, मठ मन्दिरहरुमा सातु, सरबत र टिकौरा चढाएर सतुवान मनाउने गरिन्छ । चढाएको सातु, सरबत र टिकौरा प्रसादको रुपमा घरका सबैले ग्रहण गर्दछन् । मौसममा आएको परिवर्तनलाई मध्यनजर गर्दै शरीर कसरी स्वस्थ्य राख्ने र वातावरणमा आएको परिवर्तनले हाम्रो शरीरलाई सन्तुलित राख्ने उद्देश्य सतुवान मनाउने परम्पराको सुस्आत भएको हुनुपर्छ । यसको अन्र्य यही भएको पाइन्छ । पुष माघको चिसो खाएर निस्केको मानव शरीर बैशाख जेष्ठको गर्मी खानु पर्दा र त्यसमाथि मधेशको प्रचण्ड गर्मी आफ्ैमा असहय हुने र त्यसमाथि यहाँको धुलो धुँवा यी सबैबाट जोगिन र शरीरलाई शीतलता प्रदान गर्नमा सातु निकै लाभदायक हुने गर्दछ । वायुमाण्डल बढेको तापको प्रभावले हामीलाई प्रत्यक्ष रुपमा असर पार्ने र मानिस बिरामी पर्नेको संख्यामा वृद्वि हुने हुनाले पनि यो मौसममा शरीरलाई तरल पदार्थ अन्य समयको तुलनामा बढी चाहिने हुनाले पनि बैशाखदेखि सातुको सेवन गर्नेको संख्या बढ्छ । यसको साथै यसको बिक्री वितरण पनि बढेको पाइन्छ । सतुवानको भोलिपल्ट मधेशमा मनाइने एउटा अर्को उत्सव हो जुडशीतल । नयाँ वर्षको दिन दिनभरि मान्छेहरु खाने रमाइलो गर्ने गर्छन् र बेलुका खानपिन गरेर सकेपछि राती नै भान्छा, घर अाँगन चुल्हो चौको सफासुग्घर गरेर लिपपोत गर्ने चलन छ र सफासुग्घर गरेर सकेपछि सुत्न जाने बेलामा भान्छामा प्रयोग गरिने भाँडाकुडा आदिमा चोखो पानी हालेर राख्नु पर्दछ साथै लोहोटा, जग, बाल्टिनहरुमा पनि चोखो पानी भरेर राख्ने चलन छ र भोलिपल्ट त्यही बासी तर चोखो रुपमा राखिएको पानी देवीदेवता, घरआँगन, पालेको पशुपक्षी, रुखवृक्षहरुमा छम्किने चलन छ । यति मात्र होइन घरमा रहेका सम्पूर्ण सदस्यहरुको जीउ, टाउको माथि पानी छम्केर जीउ शीतल बनाइने, आ–आफ्ना घरवरिपरि बाटोघाटो सबैमा पानी छम्केर जुडशीतल मनाइन्छ । यो काम सम्भव भएसम्म घरका सबैभन्दा ज्येष्ठ सदस्यले गर्नु पर्दछ । परिवारका सबैभन्दा वरिष्ठ सदस्यबाट टाउकोमा बासी पानी छम्कँदै वा थोपर्दै जुडाएके र शीतल होएके आशीर्वाद दिने चलन छ । ठूलाबडाबाट आशीर्वाद ग्रहण गर्दा आशीर्वाद ग्रहण गर्नेको मनमा एक किसिमको गर्वको अनुभूति हुन्छ । मनमा यो पनि हुन्छ कि ममाथि आफूभन्दा वरिष्ठको छत्रछायाँ रहेको छ । जूडशीलतमा प्रयोग गरिने बासी पानीलाई बासी पानी मात्र नमानेर आशीर्वाद मान्ने चलन छ । अझ यस दिन साथीभाइबिचमा धुलो र हिलो खेल्ने चलन पनि रहेको छ तर यो चलन विस्तारै हराउँदै गएको छ । कादोमाटीको दिन भनेर अझै पनि बूढापाकाहरु यसलाई भन्दछन् तर अब यस प्रकारको चलन लगभग हराइसकेको छ ।
जूडशीलतको दिन दाल भरेको पुरी, खिर पकाउने चलन छ प्राय जसोको घरमा पुरी, खिर नै पकाउने गरिन्छ । आफूभन्दा मान्यजनहरुलाई खुवाउने, साथीभाई मिलेर खाने रमाइलो गर्ने गर्दछन् । जुडशीतल पनि मधेशको सबै जिल्लाहरुमा मनाइँदैन । रौतहट, सर्लाहीमा विशेष धुमधामका साथ मनाइने गरिन्छ भने छिमेकी जिल्ला बारा, पर्सामा यो उत्सव मनाइँदैन । ठाउँ–ठाउँ अनुृसार पर्व र उत्सवहरु पनि फरक–फरक हुने गर्दछ । यस प्रकार नयाँ वर्षसँगै मधेशमा अन्य उत्सवहरुको आगमनले पनि हामी आफ्नो धर्म संस्कृतिमा धनी रहेको बुझिन्छ । यसपछि फेरि दिनहरु सामान्य तरिकाले अगाडि बढ्छ । विशेष गरी किसानहरुलाई यो उत्सवसँग जोडिएर हेर्ने गरिन्छ । किसानहरु यतिखेर गँहु भित्रियाइसकेको, तेलहन, मुसुराहरु भित्रियाइ सकेको र न्यून आम्दानी हुनेहरुका लागि तथा अति गरिब, पिछिडिएकाहरुका लागि मनोरञ्जन गर्ने तथा मंसिरमा धान भित्रियाएपछि फेरि कृषिलाई नै आफ्नो जीवनको आधार मानी अहोरात्र खट्ने किसानहरुका लागि यो नयाँ वर्षसँगै आएको सतुवान र जुडशीतलले विशेष महत्व राख्दछ । घाममा खटेर भोक निद्रा त्यागेर अन्न फलाउन र अन्न भित्रियाउनमा रातदिन खटेका किसानहरुलाई मिठो मसिनो खाने र साथीभाई, आफ्न्त मिलेर खुशी बाँड्ने यो एउटा मौका पनि हो ।
नव वर्ष २०७८ले देशमा रहेको राजनीतिक द्वन्दको अवस्था, कोरोनाको कारण देशले तथा विदेशले भोग्नु परिरहेको कष्टप्रद अवस्था, पिछडिएका समुदायका हक, अधिकार, दलित, जनजाति, महिलाहरु सबैले आफ्नो अधिकार पाऊन् र देशमा शान्ति सुव्यवस्था कायम रहोस् बन्द, हडताल अबका दिनहरुमा देशले भोग्नु नपरोस्, हामी सबै नेपाली हाँै र नेपालको र नेपालीको जुन परिचय विश्वका सामु छ त्यो अझै् प्रगाढ भई फलोस् फुलोस् । देशमा शान्ति छाओस् । बेरोजगारले रोजगार पाओस् । नयाँ वर्ष सबैका लागि सुखमय होस् । कोही बालक टुहुरो हुन नपरोस् र कोही आमाको सन्तानले आफ्नो ज्यान गुमाउन नपरोस् । हामी हरेकले इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गराँै देशले उन्नति र प्रगति अवश्य गर्ने छ । हामीमा मनमुटाव होइन प्रेम र स्नेह चाहिएको छ । मनमुटावले हामीलाई टाढा बनाउँछ भने प्रेम र स्नेहले हामीलाई नजिक ल्याउँछ । एकतामै बल हुने र एकताले नै मान्छे अगाडि बढ्ने हुनाले हामी मिलेर, एकबद्व भई अगाडि बढौं र नयाँ वर्ष साँच्ची नै हाम्रो लागि नयाँ साबित हुन सकोस् भनी कामना पनि हामी सबै मिलेर गरौं ।

ताजा अपडेट

खोजी गर्नुहोस