मधेश प्रदेशमा पुनः कोरोना संक्रमण बढ्दै

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७९ श्रावण ६, शुक्रबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

मधेश प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ ।

असार महिनाको अन्तिम सातासम्म मधेश प्रदेशमा शून्य रहेको कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीवार सूचना जारी गरी सर्तकर्ता अपनाउन अपिल गरेको छ । हाल कोभिड–१९ को संक्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, संक्रमणको शङ्का भएमा संक्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अजुज भण्डारीद्वारा जारी सूचनामा उल्लेख छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा छ जना कोरोना संक्रमित पाइएको छ । यसअघि गत मङ्गलबार पनि मधेश प्रदेशसमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै मधेश प्रदेशमा कोरोना पोजेटिभका सक्रिय संक्रमितको संख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, पर्साको वीरगञ्ज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोड नाकामा २ सय ३ जनाको गरिएको एन्टिजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नभेटिएको निर्देशानालयले जनाएको छ । यसैबीच, अहिलेसम्म मधेश प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना संक्रमित

पर्सा । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना संक्रमित भेटिन थालेका छन् । विगत चार महिनादेखि बन्द रहेको पिसिआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि संक्रमित भेटिन थालेका हुन् । गत चैतको अन्तिम सातादेखि संक्रमित नभेटिएपछि बन्द गरिएको पिसिआर परीक्षणलाई पुनः सुरु गरिएपछि संक्रमित भेटिन थालेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । सिंहका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा भएको पिसिआर परीक्षणको रिपोर्टअनुसार छ जना संक्रमित भेटिएका छन् । उनले ३४ जनाको स्वाबलाई परीक्षण गर्दा छ जना महिलामा संक्रमण पुष्टि भएको बताए । ज्वरो, खोकीको उपचार गराउन अस्पताल आएका बिरामीमध्ये शङ्का लागि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा सिंहले जानकारी दिए । अठार वर्षदेखि २४ वर्ष उमेर समूह रहेका ती महिला संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल देखिएको खोकी तथा ज्वरोको घरमै राखी उपचार भइरहको उनले बताए । नारायणी अस्पतालमा हाल प्रत्येक मङ्गलबार शङ्का लागेका बिरामीको पिसिआर परीक्षण सुरु गरिएको र यो संख्या बढ्दै गए परीक्षणको दायरालाई बढाउँदै लैजाने अस्पताल प्रशासनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस