आचारसंहिता विपरीत मत सर्वेक्षण गरे कारबाही गर्ने आयोगको चेतावनी

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ आश्विन २७, बिहिबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

निर्वाचन आयोगले आगामी चुनावमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ । बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएका हुन् ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

साथै आचारसंहिताको दफा ४ को ९थ० मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।

आचारसंहिताका व्यवस्थाविपरीत कोही कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने पनि आयोगले जनाएको छ । आचारसंहिताविपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको अनुगमनबाट पाइएको निर्वाचन आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस